खेलौना सम्झेर खेल्दै थिए बालबालिका, वास्तविकता थाहा पाएपछि भागाभाग

समुद्र किनारामा विदा मनाउन गएको एक परिवारमाथि निकै अकल्पनीय घटना घटेको छ। बेलायतको वेल्सकी केली ग्रेवल आफ्ना श्रीमान् र २ छोराछोरीसँग समुद्रको किनारमा घुम्दै थिइन्। यत्तिकैमा उनका छोराछोरीको नजर समुद्र किनारमा रहेको एउटा चीजमा पर्यो। यो चीत सीपीले ढाकिएको थियो । उनीहरुमध्ये कसैले पनि यस्तो चीज पहिले कहिल्यै देखेका थिएनन्।

यसको आकार गोलो थियो त्यसैले बालबालिकाहरु यसलाई बल सम्झेर खेल्न थाले । केलीले पनि त्यो अनौठो चीजको फोटो खिच्न थालिन् । उनलाई थाहा थिएन उनी कस्तो चीजसँग आफ्ना बच्चाहरुलाई खेल्न दिइरहेकी छिन् । त्यो चीजको बारेमा उनीहरुलाई त्यहाँबाट फर्किँदासम्म थाहा भएन । घर फर्केर आएपछि बल्ल उनीहरुलाई त्यो चीजको वास्तविकता थाहा भयो।

घर फर्किएपछि केलीले समाचारमा पढिन् जुन समुद्र किनारमा उनी विदा मनाउन गएकी थिइन् त्यहाँ दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको बम भेटिएको छ । पहिले त उनलाई लाग्यो यो बम उनी फर्किएपछि भेटिएको होला ।

तर पनि उनले चित्त बुझाउनकै लागि आफ्ना बालबालिकाको फोटो फेरि हेरिन् । त्यसपछि भने उनको सातो गयो । जुन चीज उनका बालबालिकाले खेलाइरहेका थिए त्यो बम नै थियो । त्यसमाथी जमेको सीपीको कारण मात्र उनीहरुले यसको वास्तविकता थाहा पाएका थिएनन् ।