बेनीको तातोपानी कुण्डमा दैनिक सयकडा पर्यटकको स्नान, के छ त्यो कुण्डको विशेषता?

म्याग्दीको बेनी नगरपालिका– ४, सिंगामा रहेको तातोपानी कुण्डमा नुहाउँदै आन्तरिक पर्यटक । यहाँ दैनिक स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ । म्याग्दीको उत्तरी पर्यटकीयस्थल भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको घुइचो लाग्ने गर्दछ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने तातोपानीमा मौसम सुरुसँगै कुण्डमा स्नान गर्न आउने पर्यटकको चाप बढेको कुण्ड सञ्चालक प्रेम तुलाचनले बताए ।

कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ३८ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गरी मनोरञ्जन लिने गर्छन् । पर्यटकको सुविधाका लागि दुईवटा कुण्ड बनाएर स्नान गर्ने व्यवस्थासमेत गरिएको छ ।

अन्नपूर्ण पदमार्गअन्तर्गत शिख, घारा हुँदै आउने पर्यटकसमेत तातोपानी झरेर स्नान गरी नारच्याङ हुँदै मुस्ताङ पुग्ने गर्छन् भने हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक र तीर्थयात्रीसमेत सोही कुण्ड हुँदै जाने भएकाले कुण्डमा स्नान गर्नेको सङ्ख्या बढेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष भुवन गौचनले बताए ।

कालीगण्डकी नदी नजिकै रहेको कुण्ड कटानको जोखिममा परेपछि जिविस म्याग्दी, भुरुङ तातोपानी गाविसका साथै पर्यटन व्यवसायीले समेत संरक्षणमा सहयोग गर्ने गरेका छन् । कुण्डमा स्नान गरेमा विभिन्न बाथरोग, मर्केको, सुन्निएको, ग्यास्ट्रिक, गानोगोलालगायतका रोग निको हुने विश्वासमा पर्यटक आउने गर्छन् । उक्त कुण्डबाट हुने आम्दानीमध्ये बर्सेनि १० लाख रूपैयाँभन्दा धेरै रकम स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालयमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । म्याग्दीको सिंगा, मुदी, दग्नाम, शिखलगायत विभिन्न गाविसमा करिब आधा दर्जन तातोपानी कुण्ड रहेका छन् ।

तातोपानी कुण्डमा एक वर्षमा १६ हजार विरामी, चालीस लाख रुपैयाँ आम्दानी

प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका वडा नं १३ मा अवस्थित तातोपानी कुण्डमा यस वर्षको असार २० गतेसम्म १६ हजार व्यक्तिहरुले कुण्डमा डुबेर उपचार गराएका छन्। गत वर्ष १५ हजार १ सय ६५ जना बिरामीहरुले उपचार गरेको सो कुण्डमा यस वर्ष १६ हजार भन्दा बढी व्यक्तिहरुले उपचार गराएका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ। नदी किनारमा जमिन मुनिबाट आउने ५० डिग्री सेल्सीएस प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको हो।

तातोपानी खाने र कुण्डमा डुवुल्की मार्दा टाउको दुख्ने, छाला, ग्याष्टिक, वाथ, घाउ–खटिरा, महिलाको आङ् खस्ने लगायतका रोगहरु निकोहुने भएपछि प्राकृतिक चिकित्सा केन्द्र बनेको यो कुण्डमा नुहाउने मानिसहरुको आकर्षण बढेको छ। अस्पतालमा औषधोपचार गर्दा रोग निको नभएर हैरान बनेका दीर्घरोगीसमेत तातोपानीमा घण्टौ डुवुल्की मार्दा रोग निको भएको अनुभव सुनाउँछन। दैनिक पटक पटक कुण्डमा डुवुल्की मार्दा रोगीले उपचारको अनुभव गर्ने हुँदा देशका विभिन्न स्थानबाट नेपालीहरु र विदेशी पर्यटकसमेत नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिका कर्मचारी मेखी खत्रीले बताइन्।

सो कुण्डमा एक पटकमा ४०० जनासम्मले नुहाउन सक्ने र दैनिक दुईसयदेखि पाँचसय जनासम्म कुण्डमा नुहाउन आउने गर्दछन्। सो कुण्डमा नुहाउनेले रु। एक सय ५० को टिकट लिनुपर्दछ। त्यो टिकट १५ दिनसम्म प्रयोग गर्न सकिने कुण्ड व्यवस्थापन समितिका कर्मचारी खत्रीले जानकारी दिइन्। पानीमा छुँदा पोल्ने र ह्वास्स विरेनुनको गन्ध आउने सो कुण्डमा डुबेर त्यहाँको पानी पिए वाथ, नसा, पेट सम्वन्धि रोग निको हुनुका साथै सुन्निएको,सर्केमर्केको ढाड दुखेको, सामान्य प्यारालाइसेस भएको लगाएतका विरामीहरु निको हुने गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले वताए।

शाक्यका अनुसार तातोपानीमा उपचारको लागि देशका अधिकाँश जिल्लाका विरामीहरुका साथै भारतको नानपारा,रुपैडिया, बनवासा लगाएत राउण्ड धौलागिरी र अन्नपूर्णको भ्रमणमा आएका विदेशी पर्यटकहरुसमेत उपचारका लागि यहाँ आउने गरेका छन्।

रोग निको पार्न डुब्नका लागि जमिनभित्रबाट निस्कने तातो पानी कुण्डमा जम्मा गरिएको छ। तातोपानी कुण्डमा डुबेपछि कम्बल वा बाक्लो कपडा ओढेर न्यानो ठाउँमा पसिना निकाल्ने गरि आराम गर्ने र कुण्डको छेउमै रहेको तातोपानीमा नुहाउने गरिन्छ।

प्राकृतिक औषधालयको रुपमा चिनिएको तातोपानी कुण्डको मुहानबाट निस्कने तातोपानीमा प्रचुर मात्रामा विरेनुन र गन्धक भएकाले यहाँको पानी पिउँदा छाला, नसा र पेटसम्वन्धी रोगहरु निको हुने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले वताए। कुनै डाक्टर वा विशेषज्ञहरुबाट प्रमाणीकरण नभएको भएपनि तातोपानीमा कुण्डमा स्नान गरि रोग निको भएको विरामीहरुको अनुभव र भनाईलाई आधार मानेर मुलुकका अधिकाँश जिल्लाबाट विरामीहरु आउने गरेका छन्। अध्यक्ष शाक्यका अनुसार पछिल्लो समय जापान, ईटाली, भुटान, अमेरीका, भारत लगायतका मुलुकहरुबाट समेत स्नानका लागी बिरामी आउने गरेका छन्।

२०२७ सालदेखि पोखरी निर्माण गरी नुहाउन सुरुगरिएको तातोपानी कुण्ड २०५४ सालदेखि बैधानिक रुपमा तातोपानी कुण्ड व्यवस्थापन समिति गठन गरी कुण्डको संरक्षण,प्रवर्द्धन र प्रचारप्रसार समितिले नै गर्नुका साथै कुण्डमा उपचार गराउन आउनेहरुवाट प्राप्त आम्दानी पनि समितिले नै विभिन्न काममा लगाउँदै आएको छ।

समितिले गतसाल कुण्डवाट ३५ लाख रुपैयाँ आम्दानी भएकोमा यस वर्ष अहिलेसम्म मात्रै ४० लाख भन्दा वढि आम्दानी गरेको जनाएको छ। समितिका अनुसार गत बैशाखमा जिल्लाका अर्थुङ्गे,रत्नेचौर,ज्यामरुककोट,सिंगा,घतान र पुलाचौर गाविसलाई समेटेर बेनी नगरपालिका बनेपछि तातोपानी कुण्डको आम्दानी व्यवस्थापनका वारेमा विवाद उत्पन्न भएको छ। बेनी नगरपालिकाले कुण्डको कुल आम्दानीको ४० प्रतिशत नगरपालिकालाई कर बुझाउनु पर्ने भनेपछि स्थानीयवासी र बेनी नगरपालिकाबीच विवाद उत्पन्न भएको हो।