३८ किलो सुनकाण्डमा मुछिएका दीपक मलहोत्रा प्रधानमन्त्री ओलीसँगै कम्बोडिया र भियतनाम भ्रमणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख । सुन र मोबाइल व्यापारी दीपक मलहोत्रा यतिबेला प्रधानमन्त्री केपी ओलीसँगै भियतनाम भ्रमणमा छन् । प्रधानमन्त्री ओलीको विदेश भ्रमण टोलीमा मलहोत्राको नाम छुट्दैन । प्रधानमन्त्री ओली गत वर्ष चीन भ्रमणमा जाँदा पनि मलहोत्रा भ्रमण दलमै समावेश थिए । तत्कालीन एमालेलाई चुनावमा लागेको खर्चको अधिकांश हिस्सा मलहोत्राले नै बेहोरेको बताइन्छ । सोही कारण उनी नेकपाको अहिलेको सरकारमा निकै बलिया देखिएका छन् ।

भियतनाममा आइतबार भएको बौद्ध सम्मेलनमा मलहोत्रा दौरा सुरुवाल र ढाकाटोपी लगाएर सहभागी भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो सुन गायब र ३८ किलो सुन तस्करी काण्डमा दीपक मलहोत्राको नाम पनि छानविन समितिले उल्लेख गरेको थियो । मलहोत्राको नाम मुछिएलगत्तै प्रधानमन्त्री ओलीकै आग्रहमा सुन तस्करी काण्ड सामसुम पारिएको नेकपाका नेताहरू नै बताउँछन् ।

विगतमा मलहोत्रा नेपाली चलचित्र निर्माणमा संलग्न थिए । उनले ‘चाहना’ चलचित्रमा लगानी गरेका थिए । त्यसलगत्तै उनी तत्कालीन एमाले नेता वामदेव गौतमको सम्पर्कमा आए । गौतम पहिलोपटक गृहमन्त्री भएका बेला मलहोत्राको सुन व्यापार खुबै फस्टाएको जानकारहरू बताउँछन् ।सुन व्यापार सँगसँगै मलहोत्राले मोबाइलको व्यापार व्यवसाय पनि सुरु गरे । सामसुङ मोबाइल कम्पनीको नेपाल एजेन्ट मलहोत्रा नै हुन् । सामसुङ मोबाइल बिक्रीबाटै वार्षिक उनले करोडौं कमाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *