प्रधानमन्त्री ओली पक्षीय नेताको निसानामा सभामुख महरा, नेकपामा चुलियो असन्तुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख । नेपालको संसदीय इतिहासमा कृष्णबहादुर महरा जस्तो विवादमा कुनै पनि सभामुख परेनन् । महराको कार्यशैलीलाई लिएर एक वर्षदेखि नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आलोचना गर्दै आएको हो । अहिले सत्तारुढ नेकपाकै नेताहरू सभामुख महरासँग असन्तुष्ट भएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा वैशाख २४ गते प्रधानमन्त्री केपी ओलीले कुण्ठा, आक्रोश र निम्छरा प्रश्नको जवाफ नदिने बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नियमापत्ति जनाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनमा होहल्ला गरेको थियो ।
तर त्यसदिन निर्णय दिन नसकेका सभामुख महराले नीति तथा कार्यक्रम पारितका क्रममा प्रधानमन्त्रीले दिएको जवाफ र सांसदले राखेका जिज्ञासामा समावेश संसदीय मर्यादा अनुकूल नभएका शब्द रेकर्डवाट हटाउन शुक्रबार निर्देशन दिए । सभामुखको यही निर्देशनलाई लिएर सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विटमार्फत सभामुख महराको रुलिङबारे असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले बोलेका शब्द रेकर्डबाट हटाउनुको जवाफ मागेका छन् । ओली पक्षका नेता र सांसद यसै विषयलाई लिएर आन्तरिक छलफलमा छन् ।
प्रधानमन्त्री देशभित्रै नरहेको अवस्थामा रुलिङ गर्नै नपर्ने विषयमा प्रवेश गरेर सभामुखले विवाद सिर्जना गराउन भूमिका खेलेको ओली पक्षका नेताको बुझाइ छ । उनीहरूले यसबारे प्रधानमन्त्री ओलीलाई सबै कुरा ब्रिफिङ गरिसकेको बताइएको छ । प्रधानमन्त्री ओली स्वयं महराको यस्तो कार्यशैलीप्रति आक्रोशित रहेको स्रोतले बतायो ।
संसद्को हिउँदे अधिवेशनमा चिकित्सा शिक्षा विधेयक पारित गराउने बेला पनि सभामुख महराले सरकारकै निर्देशनअनुसार संसद् सञ्चालन गरेका थिए । उनको सो कदमको त्यसबेला कांग्रेसले निकै आलोचना गरेको थियो ।
केही दिनअघि प्रधानमन्त्री ओलीले बोलेका शब्दमा पनि कांग्रेस सांसदले आपत्ति जनाउँदा सभामुख महरा मौन बसेका थिए । कांग्रेसले सभामुख महरालाई प्रधानमन्त्रीको आज्ञापालकको विशेषण दिएको थियो । कांग्रेसले ओलीको शब्द संसदको रेकर्डबाट नहटाए कडा आन्दोलन गर्ने संकेत दिएपछि सभामुख महरा हच्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *