काठमाडौंमा चीनले रेल गुडाइदिने, २ बर्ष भित्र बनिसक्ने (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल चलाउने प्रस्ताव गरेको छ । बेइजिङ चाइना एयर रेल ग्रुप (सिसिएआर)ले लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा स्काई रेल चलाउन प्रस्ताव गरेको हो । सिसिएआरले पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काई रेलको सम्भावनाबारे अध्ययन गरेको कम्पनीदे जनाएको छ । सिसिएआरका अनुसार काठमाडौंको चक्रपथमा पाँच हजार यात्रु बोक्न सक्ने स्काई रेल चलाउन सकिनेछ ।

सिसिएआरले दुई वर्षभित्र आफ्नै लगानीमा स्काई रेल निर्माण गर्ने दाबी गरेको छ । रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ । काठमाडौंमा चैतमा भएको लगानी सम्मेलनबाट आफू प्रभावित भएको कम्पनीको दाबी छ ।

पहिलो चरणमा एयरपोर्ट–तीनकुने–बानेश्वर–माइतीघर–त्रिपुरेश्वर–नारायणगोपाल चोकदेखि बूढानीलकण्ठसम्म २६ किलोमिटर स्काई रेल सञ्चालन गरिने प्रस्ताव कम्पनीले राखेको छ । त्यसैगरी, सहिदगेटबाट भैँसेपाटीसम्मको ६ किमिमा समेत स्काई रेल सञ्चालन हुनेछ । यो रुटमा ६ स्टेसन हुने कम्पनीले जनाएको छ । त्रिपुरेश्वरबाट थानकोटसम्मको १२ किलोमिटरसम्म समेत रेल सञ्जाल जोडिनेछ, जहाँ आठवटा स्टेसन रहनेछन् ।

तीनकुनेबाट भक्तपुरसम्म साढे आठ किलोमिटरको रुटमा भने आठ स्टेसन रहनेछन् । एकदेखि दुई किमि दूरीको फरकमा स्टेसन राख्ने कम्पनीको योजना छ । मोनो तथा मेट्रो रेलको तुलनामा स्काई रेल सस्तो हुने कम्पनीले दाबी गरेको छ । स्काई रेलले अन्य रेलको जस्तो धेरै ठाउँ लिँदैन । सडककै किनारामा वा सडककै बीच भागमा ठाउँ–ठाउँमा पोल गाडेर स्काई रेल चलाउन सकिन्छ । माथि रेल गुड्ने र तल सवारीसाधन निर्वाध रूपमा गुड्न सक्ने भएका कारण सहरमा जामको समस्या समाधान हुने कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *